Open Khabar
Before Header

तिज गीतले नै मास्दै छ तिजको महत्व

.पात्र- गुन्जन तिवारी, उमेर- भर्खर १२ वर्षमा टेक्दै गरेकी । उनका स-साना दुवैै हातका हत्केला अहिले गाढा कफीरङ्गको फुलबुट्टे मेहन्दीले सजिएका छन् । उनलाई प्रश्न सोधेँ– ‘तिमीले हातमा मेहन्दी किन लगाएको ? हरियो चुरा किन लगाएको ?’ उनले प्रतिप्रश्न गरिन्– ‘हजुरलाई तिज आएको थाछैन ? हजुर भएको ठाउँमा तिज मनाउँदैनन् ?’ मैले उनलाई म बस्ने ठाउँमा धुमधामसँग मनाउने क्रिसमसको सिको गर्दै नेपालमा पनि क्रिसमस धुमधामसँग मनाउन थालिएविपरीत नेपालमा धुमधामसँग मनाइने तिज, दशैँ, तिहार यहाँ नमनाउने कुरा भारी मनले सम्झाएँ । जसरी नेपालका नागरिकहरू विदेशी संस्कृतिको नक्कल गरी आफ्नो संस्कृति भुल्छन् त्यसविपरीत यहाँका नागरिकले आफ्नो संस्कृति नभुल्ने मात्र होइन त्यस्ता संस्कृतिको संरक्षण गर्ने पनि अथ्र्याएँ ।

उनलाई मैले फेरि सोधेँ– ‘तिमीलाई तिउरीको बिरुवा थाहा छ ?’ उनले ‘छैन’ भन्ने जवाफ फर्काइन् । तिउरी एउटा वनस्पति हो जसको पात तथा डाँठको रसले पहिले–पहिले आमा दिदी–बहिनीहरू हात–खुट्टा रङ्गाउँथे, जुन शत प्रतिशत प्राकृतिक, रसायनरहित हुन्थ्यो । उनका फुपु दिदीहरू (एक पुस्ताअगाडि) ले त्यही तिउरीको पात तथा डाँठ थिचेर हातमा मेहेन्दीको रूपमा तिजमा लगाएको कहानी सुनाउँदा उनलाई निकै अचम्म र रोचक लागेछ । अहिलेका रसायनमिश्रित मेहन्दीले एलर्जीदेखि छालाको क्यान्सरसम्म गराउने बताउँदा थोरै उनी झस्किएजस्तो पनि गरिन् । उनले मलाई पुनः प्रश्न तेर्स्याइन्– ‘अङ्कल, यो तिज भनेको छोटो लुगा लगाएर उच्छृङ्खल तरिकाले नाच्ने-गाउने पर्व हो ? तिज मनाउनको लागि म पनि ठुली भएपछि त्यस्तै अर्धनग्न भएर नाच्नुपर्छ ?’ उनको यो प्रश्नले मन झन् भारी भयो । ‘होइन ! यो आधुनिकताको नाउँमा बढ्दै गएको गलत संस्कृति हो’ भनेँ, अरु बढि सम्झाउन सकिनँ ।

अर्की रमाइली पात्र शिला, उमेरले ७ वर्षमा टेक्दै गरेकी, उनको हातका हत्केला पनि माथिकै पात्र गुन्जनको जस्तै गरी पोतिएका छन् । साना हातका नारीहरूमा थाम्नै नसक्ने गरी हरिया चुरा बजेका छन् । अहिले उनको मुखमा प्रिती आलेको नयाँ गीत ‘लरिलै बरिलै फरिया भिजायो मेरो, वर्षे पानीले, दर्के पानीले’ गीत कण्ठस्थ छ । उनलाई अहिलेबाट नै यसै गीतमा समावेस ‘गाँजा खाने भन्दा त जाति वियर खाने हो’ भन्ने टुक्का पनि कण्ठस्थै छ । यस्ता गीतले हाम्रो समाजमा विस्तारै बालमनोविज्ञानदेखि नै गाँजा, वियर जस्ता लागुपदार्थको कुलतमा फस्न प्रेरित गरिरहेको छ भन्दा अन्यथा हुने छैन । उनलाई तिजको वास्तविक अर्थ अहिले मेहन्दी, चुरा र छोटा लुगा अनि सोही गीतको जस्तै छाडा नृत्य रहेछ भन्ने गलत बुझाइ पर्न थालेको छ ।

माथिका यी प्रतिनिधि घटना मात्र हुन् । अहिले हाम्रो समुदायका हरेक घरपरिवार उल्लिखित परिस्थितिबाट अछुतो रहेन सकेको छैन ।

केही वर्ष अगाडिसम्म तिजलाई दिदिबहिनीहरू जम्मा भएर आफ्नो दुःख-सुख साटासाट गर्ने एक महत्वपूर्ण पर्वको रूपमा मनाउने गरिन्थ्यो । वर्षदिन भरिका दुःख-सुखका भोगाइहरू तिजमा माइतमा गइ तिजगीतको माध्यमबाट एकआपसमा साट्ने गर्थे, पिरलो वा पीडा पोखेर मन हल्का गर्थे । अहिले ती गीतहरूमा पनि आकाश-जमीनको फरक आएको छ । आधुनिकता, शिक्षाको विकास, घट्दो आर्थिक परनिर्भरताले विस्तारै फड्को मार्दै गर्दा समाजमा महिला दिदीबहिनीहरूले पाउने दुःख पनि घट्दो छ । योसँगै दुःख, गुनासाका गीत सुन्न नपर्नु आफैमा सकारात्मक पक्ष हो । तर यसको विपरीत हाल तिजको नाउमा दिदी-बहिनी वा आफ्ना चेलीहरू र परिवार सँगसँगै बसेर हेर्नै नसकिने अश्लीलता र कामुकताले भरिएका तिज गीतहरू निर्माण हुनु पक्कै समाजका लागि सकारात्मक पक्ष होइन ।

केही दिनअघि सोफिया थापाले ‘अबको तिज नो ब्रत प्लिज’ बोलको गीत बजारमा ल्याइन् र ब्यापक विरोधपछि हाल सो गीतलाई हाइलाइट नेपालको युट्युब च्यानलमा सबैले देख्न नसक्ने तुल्याइ ‘प्राइभेट’ गरिएको छ । एक अन्तरवार्तामार्फत् जानकारी मिलेअनुसार ‘स्वास्थ्य तथा समानता दुवैका हिसाबले ब्रत बस्नु गलत हो’ भन्ने कुतर्क गर्दै उनले यो कदमविरुद्ध सङ्र्घषमा जाने काँचो घोषणा गरेकी छन् । उनलाई जुन पनि धर्म अनुसरण गर्न ब्यक्तिगत स्वतन्त्रता होला तर स्वतन्त्र सिर्जनाका नाममा ब्रतले मानिसको शारीरिक स्वास्थ्यमा पार्ने सकारात्मक प्रभावविपरीत समाजमा यसरी नकारात्मक भ्रम फैलाउने छुट भने अवश्य छैन ।

आपसी समझदारीमा ब्रत बस्दा पति-पत्नी एकआपसमा समर्पित छन् भन्ने आभाष हुन्छ जसले पारिवारिक कलह विस्तारै हराउँदै जान्छ । यसले विस्तारै समुदायमा शान्तिको वातावरण कायम गर्न ठूलो भुमिका खेलेको हुन्छ ।

विभिन्न स्वास्थ्यविद् वा वैज्ञानिकहरूलाई आधार मान्दा ब्रत बस्नाले हाम्रो स्वास्थ्य स्थितिमा निकै फाइदा पुऱ्याउने र सकेसम्म महिनाको दुई दिन ब्रत बस्नु स्वास्थ्यका लागि निकै लाभदायक हुने बताउँदै आएका छन् । अर्कोतर्फ सामान्यतया तिजको पर्यायवाचीको रूपमा रहेको ब्रत बस्ने चलनले समुदायमा शान्ति स्थापना गर्न, झैझगडा कम गराउन उस्तै महत्व राख्दछ । तिजमा आफ्नो श्रीमानको लागि श्रीमती ब्रत बस्दा एकअर्काप्रतिको माया सदभाव बढेर जाने हुन्छ, श्रीमान्श्री-मती एकअर्काको लागि खास बन्छन्, सम्बन्ध प्रगाढ बन्छ, सम्बन्धमा सकारात्मक प्रभाव पर्छ, सकारात्मक इनर्जीको प्रभाव हाबी हँदै जान्छ तर यसको अर्थ पुरुष महिलाको लागि ब्रत बस्नै नहुने र महिला मात्र ब्रत बस्नुपर्छ भन्नेचाहिँ पक्कै होइन । आपसी समझदारीमा ब्रत बस्दा पति-पत्नी एकआपसमा समर्पित छन् भन्ने आभाष हुन्छ जसले पारिवारिक कलह विस्तारै हराउँदै जान्छ । यसले विस्तारै समुदायमा शान्तिको वातावरण कायम गर्न ठूलो भुमिका खेलेको हुन्छ ।

अहिलेको तिज गीतमा महिलाको भन्दा पनि पुरुषहरूको स्वर बढि सुनिन थालिएको छ । यो तिज पर्व हिन्दु संस्कारअनुसार महिलाहरूको चार्डपर्वको रुपमा लिइँदै आएको छ । दुर्गेश थापाले बिच्च बिच्चमा भाग ३ बजारमा ल्याएका छन् जसमा उनको टिमले साडी नै लगाएर नृत्य गरिरहेका छन् । यस्ता खालका गीत बजारमा ल्याइनुले लैङ्गिक तथा सामाजिक स्तरमा नै महिलाकोे अपमान भएको तर्क पुराना सर्जकहरूले राख्दै आएका छन् । दुर्गेश थापाले ‘बिच्च बिच्चमा ३’ निकालिसकेपछि अहिले प्रवीन भट्टराइले ‘नाच्ने हो छेउ छेउमा’ निकालेका छन् र विरु कार्की र विष्णु पाण्डेले ‘चोली तुनामा, धेरै नाच्यौ बीच-बीचमा अनि छेउ-छेउमा अब नाच्ने हो कुना–कुनामा’ बोलको गीत बजारमा ल्याएका छन् । त्यस्तै मनिष श्रेष्ठ र एलिना चौहानले ‘कति नाच्यो तिजमा छेउ र बीचमा, यसपालि त नाच्ने हो घरको छतमा’ गीत बजारमा ल्याएका छन् । यसले तिजको महत्वलाई भन्दा पनि कसरी हुन्छ चर्चा बटुल्ने ध्येयबाट र शाब्दिक प्रतिष्पर्धाबाट यी गीतहरू निस्केका छन् ।

पशुपति शर्माका तिज गीतहरू प्रायः साली र भेनाका प्रेमकहानीमै अड्किएका हुन्छन्, त्यस्तै खुमन अधिकारीले पनि तिजको संस्कृतिलाई संरक्षण गर्ने खालका गीत गाएको पाइँदैन । तिजको नाउँमा उनी पनि सालीभेनाकै प्रेमालाप गाउन मस्त छन् । अहिले तिजका नाउँमा निस्केका तिजगीतहरूका शब्द तथा दृश्यमा कामुकता तथा नग्नता भरिन थालेका छन् । यसबाट श्रष्टाहरू सामाजिक सन्जाल तथा युट्युबमा हिट हुन तथा क्षणिक चर्चा बटुल्न र पैसा कमाउन मात्र लिप्त रहेका प्रष्ट देखिन्छ ।

समाजमा भ्रम फैलाउने यस्ता खालका गीतहरूलाई रोक्ने मात्र होइन यस्ता खालका गीतहरू बजारमा ल्याइए हदैसम्मको कानुनी कारबाही तोकिनु आवश्यक छ ।

उसो त भूमिका गिरी र टीका सानुले केही हप्ता अगाडि ‘बुट्टा भरेको’ बोलको गीत बजारमा ल्याए जुन दश लाखभन्दा धेरैपटक युटयुबमा हेरिइसकेको छ । यसमा खुलेआम ‘तिम्रै छन् चर्चा, तिम्रै छन् कुरा, दुइतिर हातमा सुनका चुरा, बुट्टा भरेको’ भन्दै नाचिएको छ । यसको अर्थ अब तिजमा चर्चा पाउन, आफ्ना कुरा समुहमा चल्नका लागि दुई हातमा सुनका चुरा हुनु जरुरी नै भएको छ । महँगा पोशाक, हातमा चुरा, घाँटीमा गहना हुनु जरुरी नै छ । गहना नभएका महिलाहरूको लागि अब तिज वास्तवमै तिज रहेको छैन यो अब निम्न वर्गीय महिलाहरूको लागि दशा बन्दै गएको छ । तिजकै कारणले निम्न वर्गका महिलाहरूको मानसिक अवस्था खस्कँदो रूपमा छ र धेरै दिदीबहिनीहरू समाजका यस्तै क्रियाकलापहरूले डिप्रेशनको शिकार बन्ने निश्चितप्रायः देखिन्छ । त्यस्तै, ज्योति मगर तिजका गीत गाउने केटालाई राँची पठाइदे भन्दै गीत बजारमा ल्याएकी छन् । यसले पनि समाजमा मिलेर बसेको लैङ्गिक सहिष्णुतालई गिज्याइरहेको छ । यस्ता गीतले समाजमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा लैङ्गिक स्थिरतालाई भड्काउने हुन्छ र विस्तारै सामाजिक सरंचनालाई नै असर पु¥याउने हुन्छ ।

माथि चर्चा गरिएका गीतहरू तिजका प्रतिनिधि गीत मात्र हुन् । यी गीतहरूले कहीँ कुनै पक्षबाट पनि तिज संस्कृतिको पक्षमा वकालत गरेका छैनन् । देशमा सामाजिक, राजनैतिक, आर्थिक सरंचनामा परिवर्तन आउँदा गीतका शब्दहरूमा, मौलिकतामा परिवर्तन आउनुलाई सामान्य मान्न सकिन्छ, तर स्वतन्त्र सिर्जनाका नाउँमा तिजको संस्कृतिलाई नै मास्ने गरी गीत निस्कनु संस्कृतिको विनास हो । समानताको नाउँमा वा अधिकार महिलामैत्री हुनुको अर्थ परम्परादेखि चल्दै आएको संस्कृतिको नास नै गर्नु वा चल्दै आएको संस्कृतिलाई नै परिस्कृत गर्दैै सो संस्कृतिको गन्ध नै नआउने गरी तुहाउनु पक्कै होइन ।

.

संस्कृतिमाथिको यस्तो प्रहार कुनै पनि हालतमा सह्य छैन जसको लागि लोकगीत प्रतिष्ठानलाई यस्ता छाडा गीतहरूमाथि सेन्सर लगाउने अधिकार दिएर होस् वा सरकारी तवरबाट नै आधिकारिक रूपमा नियमन निकाय स्थापना गरी यस्ता गीतहरू बजारमा ल्याइन रोक्नु पर्दछ । समाजमा भ्रम फैलाउने यस्ता खालका गीतहरूलाई रोक्ने मात्र होइन यस्ता खालका गीतहरू बजारमा ल्याइए हदैसम्मको कानुनी कारबाही तोकिनु आवश्यक छ । तिज पर्व नजिक आइरहेको समय छ, अझै थप तिज गीतहरू निस्कने क्रममा छन् । आशा छ सम्बन्धित सरोकारवालाहरू र पुराना सर्जकहरूले यस अवस्थालाई अवश्य नजरअन्दाज गर्ने छैनन् र उनीहरूको पहलमा नै सम्बन्धित निकायबाट यस्ता खालका गीतहरू रोकेर संस्कृतिमाथिको दोहन रोकिने छ र पुनः सभ्य तिज संस्कृतिको विकास हुने छ ।

साभारhttps://www.ghatanarabichar.com/195258

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.