फागुन ०९, २०७७

काठमाडौं – भान्जालाई अपहरण गरेर १ करोड फिरौती माग्ने मामालाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले आइतवार पत्रकार सम्मेलन गरी भान्जाको अपहरण गरेका महोत्तरी जिल्ला पिपरा गाउँपालिका ७ का २० वर्षिय लक्ष्मेश्वर दासलाई सार्वजनिक गरेको हो।


जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख तथा प्रहरी उपरीक्षक (एसपी) प्रकाश रानाभाटले अनुसन्धानका क्रममा आर्थिक प्रलोभनमा परेर अपहरण गरेको पाइएको बताए। धनुषाको नगइराइन नगरपालिका ६ काे लग्माबाट सात वर्षीय चन्दन दासलाई शनिबार दिउँसो १ बजे मोटरसाइकलमा बसाएर लक्ष्मेश्वर दासले अपहरण गरेका थिए। प्रहरीले बालकलाई शनिवार साँझ आठ बजे जनकपुर उपमहानगरपालिका ७ कटैयाचौरीकाे सरोज ठाकुरको घरबाट उद्धार गरेको थियो।
बालकलाई अपहरण गरेपछि बालकको आमालाई फोन गरी मामा दासले एक करोड रुपैयाँ फिरौती मागेका थिए। त्यसलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। प्रहरीका अनुसार प्रदेश २ प्रहरी कार्यालयको प्राविधिक टिमको सहयोगमा धनुषा प्रहरीले बालक अपहरणमा परेको ७ घण्टा भित्रै सकुशल उद्धार गर्न सफल भएको हो। अपहरित बालकलाई परिवारजनको जिम्मा लगाइ घटनामा संलग्न रहेको आशङ्कामा अन्य दुई जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
