काठमाडौँ,प्रतिनिधिसभा विघटनविरूद्ध नेपाली कांग्रेसले आज पनि देशभर प्रदर्शन गर्दैछ ।
प्रतिनिधिसभा विघटन गरिएको एक सातापछि पुस १३ बाट आन्दोलित कांग्रेसले आज जिल्ला कार्यसमितिहरुको आयोजनामा देशका ७७ वटै जिल्लामा विरोध प्रदर्शन गर्दैछ ।

कांग्रेसभित्र चुनावमा जाने कि असंवैधानिक भनिएको प्रतिनिधिसभा विघटनका लागि संयुक्त आन्दोलनमा जाने भन्नेमा विवाद छ । सभापति देउवा पक्षधर अदालतले चुनावकै पक्षमा फैसला गरे निर्वाचनमै होमिनु पर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर ओलीको अवैधानिक कदम जसरी पनि सच्चिनु पर्ने पक्षमा छन् ।
पार्टी सभापति देउवा बुटवलमा हुने कार्यक्रमलाई सम्बोधन गर्न जाँदै छन् । वरिष्ठ नेता पौडेल धादिङ सदरमुकाम धादिङवेसी, उपसभापति विमलेन्द्र निधि सप्तरी, महामन्त्री डा. शशांक कोइरालाले दाङको विरोध सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


नेता कृष्णप्रसाद सिटौलाले झापामा हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन् । प्रकाशमान सिंह पोखरा, डा. शेखर कोइराला धरान, अर्जुननरसिंह केसी काठमाडौं, डा. मिनेन्द्र रिजालले प्युठान, डा. रामशरण महतले काभ्रे, प्रवक्ता विश्वप्रकाश शर्माले ललितपुर, गगन थापाले चितवन, प्रदीप पौडेलले दैलेख, अर्जुन जोशीले भक्तपुर, गुरुराज घिमिरेले दोलखाको विरोध सभालाई सम्बोधन कार्यक्रम तय भएको कांग्रेसले जनाएको छ ।
तेस्रो चरणको आन्दोलनमा रहेको कांग्रेसले पुस १३, पुस २५, माघ ३ माघ ८ माघ १९ र माघ २४ गते विरोध प्रदर्शन गरिसकेको छ ।
