
पुष १५
हेटौडा
बागमती प्रदेशका कृषि, पशुपंक्षी तथा मत्स्यमन्त्री वसुन्धरा हुमागाईंले नेपालको समग्र कृषि उत्पादनमा बागमती प्रदेशको योगदान १७ प्रतिशत रहेकाले यसको दीगो विकासका लागि जोड दिनुपर्ने बताएका छन् ।

मन्त्रालयको आर्थिक वर्ष २०७८/७९ मा गर्न सकिने ५१ बँुदे मार्गचित्र बिहीवार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उनले प्रदेशको कृषि क्षेत्रलाई सहज र व्यावसायिक बनाउन मार्गचित्र निर्माण गरिएकोे जानकारी दिए ।
मन्त्री भएको १० दिनमा तयार पारिएको मार्गचित्रले काममा पारदर्शिता हुने विश्वास व्यक्त गर्दै मन्त्री हुमागाईंले यसबाट प्रदेशको आवश्यकता र मागका आधारमा अनुदान लगायत भौतिक संरचना तथा कृषकको हितका लागि काम गरिने बताए ।
मार्गचित्रमा प्रदेशको कृषि विकास ऐन तर्जुमा, पोल्ट्री विकास बोर्ड स्थापना र रासायनिक मल भण्डारण कक्ष निर्माण गरिने रहेको छ । स्वास्थ्य माटो कृषि उत्पादनको मूल बाटो अभियान सार्थक बनाउन स्थानीय तहमा माटो परीक्षणका लागि डिजिटल प्रविधि हस्तान्तरण गरिने जनाइएको छ ।


कृषि वस्तुको तोकिएको न्यूनतम मूल्यमा प्रतिकिलो २ रुपैयाँका दरले प्रोत्साहन अनुदान उपलब्ध गराइने, किसानले उत्पादन गरेको कृषिउपज बिक्री नभए न्यूनतम सर्मथन मूल्यमा खरिद बिक्री गरिने, कृषि उपकरण उद्योग स्थापनामा सहयोग गरिने र माघ २५ देखि फागुन २ गतेसम्म भेडा बाख्रामा लाग्ने पीपीआर रोगविरुद्ध खोप अभियान सञ्चालन गरिनेलगायत कार्यक्रम पनि मार्गचित्रमा उल्लेख छ ।
मत्स्य क्षेत्रबाट हुने उत्पादन, प्रशोधन र बजारीकरणका लागि छुट्टै मत्स्य प्रवद्र्धन नीति तर्जुमा गरिने, दुग्ध उत्पादन प्रोत्साहन अनुदानलाई समयसापेक्ष परिमार्जन गरिने, पशुपंक्षी प्रयोगशाला निर्माण गरिने र कृषि तथ्यांकलाई व्यवस्थित गरिने बताइएको छ ।
लोकान्तर बाट
