
पर्वत — अघिल्ला वर्षहरुमा घरबाटै ३ लाख रुपैयाँभन्दा बढीको सुन्तला बिक्री गरेका थिए । यो वर्ष ५० हजार रुपैयाँ पनि आम्दानी नहुने बताउँछन् दाताराम चापागाईं । सुन्तला उत्पादनमा जिल्लाकै मुख्य क्षेत्र मोदी–२ देउपुरकी सत्यदेवी तिमिल्सिनाले पनि यो वर्ष सुन्तला बिक्री गरेर ३० हजार रुपैयाँ पनि आम्दानी नहुने आकलन गरिन् ।फूल फुल्ने र फल पाक्ने बेला रोगको संक्रमण हुँदा पछिल्लो ३ वर्षयता किसान समस्यामा छन् । पाकेको फल धमाधम झरेकाले अहिले बोटमा फलेकोमध्ये २० प्रतिशत मात्रै सुन्तला बचेको किसानहरू बताउँछन् । सुरुमा केही बोटमा देखिएको यो समस्या यो वर्ष भने गाउँभरि फैलिएको छ । माछापुच्छ्रे सुन्तला उत्पादक सहकारीका अध्यक्षसमेत रहेका चापागाईंका अनुसार तल्लो दोबाटामा यो समस्या गत वर्षबाट देखि थालेको हो । ‘गतवर्ष कडेनी आसपासका बगैंचामा यो समस्या देखिएको थियो,’ उनले भने, ‘अहिले सर्दै गएर गाउँभरी भएको छ ।’
उनका अनुसार सुन्तलामा २ प्रकारको रोग देखिएको छ । ‘टाइफुलेट’ जातको भाले किराले सुन्तलाको फूल र बचिला झार्ने र पाक्ने बेलामा पनि ‘ग्रिन सिटासिल्ला’ नामको भाइरसका कारण फल झर्ने समस्या व्याप्त छ । फूल लाग्ने समयमा देखिएको समस्या समाधानमा किसानले हदैसम्मको प्रयास गरे । कृषि प्राविधिकका अनुसार ‘फेरामेन ट्रयाप’ मा ‘मिथाइल युजिल’ मिलाएर राख्दा टाइफुलेट मर्थ्यो । ‘दुई वर्षयता त्यो उपाय पनि काम लागेन,’ चापागाईंले भने ।

प्राविधिकले ग्रिन सिटासिल्लालाई मानिसलाई लाग्ने एचआईभी एड्ससँग तुलना गर्दै यो समस्या समाधान नहुने बरु नयाँ बोट रोप्नेबाहेक अरु विकल्प नभएको बताउने गरेका छन् ।


वर्षौंदेखि आर्थिक उपार्जनको मुख्य स्रोतको रुपमा रहेको सुन्तलाखेतीबाट आम्दानी घटेपछि किसानहरू समस्यामा छन् । ‘भनौं कसले घाटा पूर्ति गर्छ र भन्ने ? नभनौं वर्षभरिको आम्दानी गुमेको छ । पहेँलपुर हुने सिजनमा रित्ता बोट छन्,’ स्थानीय तिमिल्सिनाले भनिन्, ‘झरेर अलिअलि बचेकुचेका गेडा पनि बाँदर आएर सखाप पार्दियो ।’
