फागुन ०७, २०७७

काठमाडौं – राजधानीमा जारी राष्ट्रिय महिला लिग फुटबलको दोस्रो चरणअन्तर्गत आज सम्पन्न खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले भारी गोलसहित शानदार जित निकालेको छ। शुक्रबार लिगको अन्तिम खेलमा पुलिसले उदयपुरको चौदण्डीगढीलाई १०–० को फराकिलो नतिजाले पराजित गरेको हो।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा सोमबार भएको खेलमा पुलिसलाई जित दिलाउने क्रममा निरु थापाले ह्याट्रिकसहित चार गोल तथा निर्मला बिकले पनि ह्याट्रिक गर्दा सुनकला राई र अमृता जैसीले समान एक/एक गोल गरिन्। चौदण्डीगढीले पुलिसलाई एक गोल आत्मघाती उपहार पनि दिलाएको थियो।


नेपाल पुलिस क्लबले खेलको तेस्रो मिनेटमा निरु थापाको गोलबाट अग्रता लिएको थियो। खेलको तेस्रो छैटौं र ११औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी निरुले २८औं मिनेटमा व्यक्तिगत चौथो गोल गरिन्। खेलको ३६औं मिनेटमा व्यक्तिगत पहिलो गोल गरेकी निर्मलाले पहिलो हाफको इन्ज्युरी समय र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरिन्। त्यस्तै, ६१औं मिनेटमा सुनकला राईले गोल गर्दा अमृता जैसीले इन्जुरी टाइममा थप एक गोल गरिन्। ३०औं मिनेटमा चौदन्डीगढीको सुजाता राईको आत्मघाती गोलसँगै पुलिसले १०–० फराकिलो जित निकालेको हो।
जितसंगै पुलिसले १२ खेलबाट १८ अंक जोड्दै तेस्रो स्थानमा लिगको अन्त्य गरेको छ। लिगमा पुलिसले ५ जित, ३ बराबरी र चार हारको सामना गर्यो। त्यस्तै, ११ खेलबाट ३३ अंक जोडेको एपिएफ लिग विजेता बनिसकेको छ। आर्मी भने ११ खेलमा २६ अंकसहित दोस्रो स्थानमा रहने पक्का छ। १७ अंक जोडेको वालिङ नगरपालिका चौथो स्थानमा रहँदै लिग अन्त्य गर्यो भने विराटनगर १६ अंकसहित पाँचौ तथा ९ अंक जोडेको चन्द्रपुर छैटौं स्थानमा रह्यो। लिगमा एक खेलमा पनि जित हात पार्न नसकेको चौदन्डीगढीले ४ गोल गर्दा १०६ गोल बेहोर्यो। लिगको अन्तिम स्थानमा रहेको अंकविहीन चौदन्डीगढीले लिग यात्रा समाप्त गरेको छ।
