Open Khabar
Before Header

कविता ‘झर’ को सैद्घान्तिक विर्मश तथा विकासक्रम सुरेश काफ्ले ‘विदारक’

१.विषय प्रवेश वाङ्मय भनेको सन्तुलित प्रकृतिमा जीवनशैली स्थापित गर्ने विषय हो ।
सृष्टिको आरम्भदेखि सभ्यतासँगै समाजलाई गति दिने विषय पनि वाङ्मयलाई नै मानिँदै आएको छ ।
“जीवन जगतका सन्दर्भहरुसँग जोडिएर नवीन जिज्ञासासँगै
भौतिक सुखदुख–सुविधामा अभिप्रेरित गर्ने विषय वाङ्मय अर्थात् भाषा साहित्य नै हो ।”
सृष्टि सौन्दर्यको अभिव्यक्ति, मानविय संवेगात्मक चिन्तन र व्यवहारको प्रतिबिम्ब गर्ने विषय नै साहित्य हो ।
यसले जीवनजगतका सकारात्मक तथा नकारात्मक पाटाहरुको विश्लेषणात्मक जाहेरी र जीवनलाई मार्गदर्शन गर्ने काम साहित्यले नै गर्दछ । साहित्यको एक प्रमुख विधा कविता हो जसमा सौन्दर्यता सहितको कल्पनाको अनिवार्य उपस्थिती रहन्छ । पाश्चात्य साहित्यमा जोन्सन ‘कल्पना र संवेगद्वारा गरिएको जीवनको व्याख्या नै कविता हो’ भन्छन् ।
त्यस्तै नेपाली साहित्य कविताका महाकवि लक्ष्मीप्रसाद देवकोटाका अनुसार ‘भावनाको हार्दिक कोमलता नै कविता हो’ । ‘कविता जीवन जगत्का मूल्यवान् अनुभवको काल्पनिक कलात्मकबद्व वा मुक्त लयात्मक भाषिक सङ्कथन हो’ भनी विद्वान वासुदेव त्रिपाठी भन्छन् । कवितामा भाषाका माध्यमवाट अभिव्यक्त हुने जीवनको एक प्रकारको सङ्गीत, आलोचना, अनुभूतिय उच्छलन, रागात्मक तथा आनन्दात्मक जीवनको व्याख्या हुन्छ ।
‘अन्तगर्भित अर्थ संवेदना लगाएत तत्वका आधारमा मात्र कविता अवतरित हुन्छ ।’
प्रा. राजेन्द्र सुवेदी (वैजयन्ति अंक ५०) । यस्ता कवितासँग सम्बन्धित धेरै उपविधा (प्रविधा)हरु चिन्तनीय रहेका छन् । मुक्तक, तांका, हाइकु, चोखा, छेस्का, क्रिमुक, सेदोका, तप्कना, ॐ, बाछिटा, कोपीला, झर आदि कविताका प्रविधाहरु नेपाली साहित्यकाशमा देखिएका छन् । सबै साहित्यिक भेलमा पौडीरहेको अवस्थामा लघु तथा सुत्रकविता ॐ, बाछिटा, कोपीला, झर नयाँ उपविधाहरु पनि जन्मिने क्रम बढ्दो छ । यस्ता विचारका अक्षरहरु सजाउने साहित्यिक विधाहरुको नयाँ अभ्यास र संरचना लिएर जन्मिनु एक हिसाबले साहित्यलाई धनि र फराकिलो बनाउनु हो । तर भेल आएर नसंग्ली हराएर जानु चाँही राम्रो होइन । रचनाको दृष्टिले संख्यात्मक भन्दा गुणात्मक र ओजनदार रचनाको अपेक्षा पनि पाठकले गरेको हुन्छ । त्यस्ता रचना नपाएमा त्यत्तिकै हराउदै गएका पनि उदाहरण प्रशस्त छन् ।
भर कविताको उपविधा नेपाली लधु तथा सुत्रात्मक कविता हो । साहित्यका (कविता, कथा, नाटक, उपन्यास, निबन्ध प्रमुखविधामध्ये कविताको प्रविधाका रुपमा विकास तथा प्रयोग हुँदै आएको झर सुत्रात्मक संकलनको नविन प्रयोग तथा सिर्जना हो । यो साहित्यका विविध विधा तथा उपविधा मध्येको सबैभन्दा सानो तथा खुल्ला रचना विधान भएको कविताको उपविधाको रुपमा विकसित हुदैछ । साहित्यिक विधा जन्माउनु ठूलो कुरो होइन, हुर्काएर परिपक्क बनाउनु नै ठूलो कुरो हो ।
यसै सन्र्दभलाई लिएर पङ्क्तिकारले नेपाली साहित्यकाशमा भर्खरै उदाएको कविताको प्रविधा (उपविधा) झरको बारेमा संक्षिप्त सैद्घान्तिक विमर्श र छोटो इतिहास समेटेर यो आलेख तयार गरिएको छ । २.झरकोे सैद्घान्तिक परिचय नेपाली साहित्य आकाशमा उडान भरिरहेको कविताको एक नयाँ उपविधा ‘झर’ मनमोहक र प्रभावकारी देखिइरहेको छ । नेपाली माटोमा प्रत्येक व्यक्ति सर्जक होऊन् भन्ने वृहत उद्देश्य राखेर जन्मेको यो कविताको उपविधा साँच्चिकै नौलो छ, सर्जकहरु माझ लोकप्रिय बन्दै गएको छ । प्रत्येक व्यक्तिमा केहि न केहि सिर्जनागत प्रतिभा हुन्छ, सो प्रतिभालाई उजागर गर्न केही न केही मौलिक सिर्जनाहरु सिर्जित हुन्छन् । ति सिर्जनालाई समुचित सदुपयोग गरे व्यक्ति, समाज र राष्ट्रको भाषिक तथा सांस्कृतिक प्रगति, समृद्धिको विकासमा ठुलो सहयोग पुग्छ । भाषा, संस्कृति, परम्परा, जनबोली, जनआस्थाका कवितात्मक सिर्जनाहरु हाम्रा अमुल्यनिधि हुन्, जसलाई जोगाउनु हाम्रो परमकर्तब्य हो ।
त्यहि अनुपम उद्धेश्य पुरा गर्न व्यक्तिले आफ्नो जीवनका अनुभवलाई सजिलोसँग अभिव्यक्त गर्न यसको विकास गरिएको हो । यसको सिर्जनामा नविनतम् चोटिला उक्ति, भनाई, टुक्का, हरफ, कविता बन्न नसकेका चोटिला हरफहरु यसका सिर्जना हुन भने जीवन दर्शन र त्यसका अनुभव तथा अनुभूतिहरु, प्रेम, राजनिति, देश र राष्ट्रिय विचार तथा भावनाहरु, समस्याहरु सबै यसका विषयवस्तु हुन् । झरलाई घिउ रोटि जस्तै मिठो र पानीको झरले प्रकृतिमा दिने शितलतासँग तुलना गरेर झरको साहित्यिक अवधारणा स्पष्ट पार्नु भएका सर्जक नारायण खनाल निलमका अनुसार “झरले प्रकृतिमा धर्ती र प्राणीजगत्लाई सरल साहित्यको माध्यमबाट चरम आनन्द दिन सक्ने, सकारात्मक बनाउन सक्ने तथा समग्र जीवन जगत्लाई डो¥र्याउन सक्छ ।” झर शब्द आफैमा सरल छ ।
यो नेपाली भाषामा प्रयुक्त झर नाम शब्द हो । यो झर् अनुकरण मूल शब्द झर् मा र प्रत्यय (झर् + र ) लागेर बनेको शब्द हो जसको शाब्दिक अर्थ नेपाली शब्दकोष अनुसार पानी बर्सेको वा झरना खसेको शब्द भनेर भनिएको छ । झरले पानी पर्ने पटक र तलतिर बग्ने पानीको स्रोतलाई पनि जनाउँछ । योसंग झरलाई व्याख्या गर्दा झर सृजनाको एक सानो एकाई हो । सृजनाको सूक्ष्म विधा हो । यो तलतिर बगिरहेको पानी सिर्जनशील, स्वच्छन्द तथा खुल्ला भएर बगे जस्तै मानविय सोच तथा सिर्जनाशिल मस्तिष्कवाट उन्मुक्त भावको स्वच्छन्द बहाव नै झर हो । त्यस्तै झर शब्द संस्कृतबाट लिइएको झृ मा प्रत्ययअ (झृ+अ ) लागेर बनेको नाम शब्द हो जसको अर्थ हुन्छ चामलको पिठो वा नौनीमा मुछी कपडामाथि बेलेर गुलियो पदार्थ नमिसाई पकाइने एक किसिमको रोटी ; घिउरोटी; घेवर हुन्छ ।
यस अर्थका आधारमा झर एउटा सानो, चोटीलो, चम्किलो र पोषकयुक्त चिल्लो रोटी हो जो छोटो भईकन पनि प्रभावशाली र मर्मस्पर्शी हुन्छ भन्ने बुझिन्छ । झरका अभियन्ता नारायण खनाल निलम झरका सम्बन्धमा “देख्दा सामान्य लाग्ने झर शब्दको अर्थ जनताको आत्म सँग गाँसिएको छ , प्राकृतिक शीतलतासँग गाँसिएको छ । यसले जनताको भावनाको प्रतिनिधित्व गर्छ । प्राकृतिक सौन्दर्यको प्रतिनिधित्व गर्छ भन्नुहुन्छ । यसरी स

 

यसरी साहित्यिक रुपमा परिभाषा गर्नुपर्दा झर भन्नाले एक सिर्जनात्मक चोटीलो द्विपदिय लघुत्तम सुत्रात्मक सिर्जना हो जो चोटिला जीवनदर्शनका वाणीहरु, लोकोक्ती, उखान, टुक्का, भनाईमा बढी प्रभावशाली हुन्छ ।
नेपाली शब्दकोषमा बगिरहेको पानीको अधोगामी प्रवाह वा त्यस्तो प्रवाहको कुनै एक एकाई भनी व्याख्या गरेको छ । तसर्थ यसलाई स्वछन्द सृजनात्मक एकाईको कुनै एक एकाई रूपमा पनि व्याख्या गर्न सकिन्छ । यसका परिकल्पनाकार तथा प्रर्वतक शिव खनाल ‘साहित्यमा भन्नुपर्दा झर भन्नाले छोटो, प्रभावशाली, स्वच्छन्द रचनाहरु हुन् ’ भन्नुहुन्छ ।
“मनोचिकित्सामा रोगीहरुको रोग पहिचान गर्न उनीहरूको अभिव्यक्तिको एकाईको रूपमा झरलाई लिन सकिन्छ । रोगीको अभिव्यक्तिलाई संकलन गरि उनीहरूको विचारको प्रवाह प्राप्त गर्न यसले मद्धत गर्दछ । मानसिक स्वास्थ्यमा कठिनाइ भएका व्यक्तिलाई सृजना तर्फ लक्ष्य निर्धारण गर्न झर सजिलो माध्यम बनेको छ ।’’ शिव खनाल । झर साहित्यको एक स्वछन्द र स्वस्फुर्त एक स्वतन्त्र सिर्जनात्मक चोटीलो लघुत्तम द्विपदिय सुत्र–कवितात्मक अभिव्यक्ति हो जो चोटिला जीवनदर्शनका वाणीहरु, लोकोक्ती, उखान, टुक्का, भनाईमा बढी प्रभावशाली हुन्छ । २.१ परिभाषा कविता ‘झर’ नेपाली साहित्यकासमा भर्खर तातेताते गर्दैछ । यसले आफ्नो स्वरुप र परिचयमा पूर्णता ल्याउन प्रयास गरिरहेको छ । यसको सैद्वातिक खोजी, विचार र विर्मश भैरहेकोनै अवस्थामा छ ।
यसै सन्दर्भमा झरका अभियन्ता तथा सर्जकहरुले आफ्ना फेसबुक अर्थात विभिन्न लेख वा भनाईका माध्याम मार्फत दिनु वा बोल्नु भएका वा विचारका क्रममा आएका अवधारणालाई यसको परिभाषाको रुपमा प्रस्तुत गरिएको छ । क) “झर सूक्ष्म विधा अन्र्तगत सृजनाको एक सानो एकाई हो । यो तलतिर बगिरहेको पानी जस्तै स्वच्छन्द हुन्छ ।” –शिव खनाल ख) “झर घिउको रोटी जस्तै मिठो, मुलायम, आकाशबाट बर्सने पानीको एक झरजस्तो शितलता गहन भावयुक्त दुई पङ्क्तिमय सुक्ष्म सिर्जनालाई झर भनिन्छ ।
” –नारायण खनाल ग) “नेपाली माटोमा जन्मिएको लोकजीवनका अनुभवका अनुभूतिजन्य कथनलाई स्वतन्त्रपुर्वक पहिलो पङ्क्तिमा बिषय उठान र दोस्रो पंक्तिमा पूर्णता दिएर सिर्जना गरिने नेपाली साहित्यमा कविताको एक लघुत्तम नेपाली नवीन विधानै झर हो।” –आर्त आकुलिन ट) “झर स्वतन्त्रपूर्वक पहिलो पङ्क्तिमा विषयवस्तुको उठान र दोस्रो पङ्क्तिमा पूर्णता दिने एक सिर्जनात्मक द्विपदीय लघुत्तम सुत्रात्मक कविता हो जो चोटिला जीवनदर्शनका वाणीहरु, लोकोक्ती, उखान, टुक्का, भनाईमा बढी प्रभावशाली हुने एउटा सशक्त र सिर्जनशिल धारिलो हतियार हो । ” –सुरेश काफ्ले ‘विदारक’ यी माथिको परिभाषाहरु तथा अवधारणका आधारमा झरका बिशेषताहरु ः नेपाली मनमाटोको सिर्जना हो । यो द्विपदीय रचना हो । यो दृष्टात्मक शैलिको रचना हो ।
यो लधुत्तम, सूत्रात्मक र गद्य वा पद्य दुवै लयमा रचना गर्न सकिन्छ । यसमा भावनात्मक तथा दार्शनिक भाव वढी प्रबल रहन्छ । यो आख्यान विहीन रचना हो । अर्थमा व्यापकता, भावमा साङ्केतिकता, रचनामा पूर्ण स्वतन्त्रता तथा भाव सम्प्रेषणमा दार्शनिक तथा सकारात्मकता हुन्छ । यो कुनै पनि सिर्जनाको एक सृजनात्मक एकाई हो । विभिन्न एकाईहरु मिलाएर जस्तै एउटा लामो पूर्ण कविताको सिर्जना पनि गर्न सकिन्छ । माथिको बुँदाहरुलाई हेर्दा यो भावनात्मक तथा दार्शनिक भाव वढी प्रबल हुने हुदाँ प्रगतिशील विचारलाई बढी प्रश्रय गर्ने लद्युत्तम सूत्रात्मक द्विपदिय दृष्टात्मक शैलिको बिशेष रचना हो ।
त्यस्तै यसको आयाम पनि लद्युत्तम सूत्रात्मक नै छ भने यसको भाषा पनि बढी बौद्विक, क्लिष्ट, व्यङ्ग्यपूर्ण, सुक्तिमय हुने देखिन्छ । निष्कर्षमा भन्नुपर्दा झर भनेको सृजनात्मक एकाईको बौद्विक भावले मनमस्तिष्कलाई दार्शनिक, भावनात्मक तथा रचनात्मक स्वतन्त्रता दिने एक पूर्ण, विशिष्ट तथा अर्थयुक्त द्विपदिय लद्युत्तम सूत्रात्मक तथा दृष्टात्मक नेपाली मौलिक कवितात्मक उपविधा हो । अझै पनि यसलाई पूर्ण परिभाषामा बाध्न सकिएको छैन । विद्वान तथा सर्जकहरुद्वारा यसका विचार सिद्वान्त थपिदै र परिष्कृत हुँदै गईरहेको अवस्थाछ । यसले विषयवस्तुमा व्यापकता समेटन सक्नुपर्दछ ।
२.४ झरको उद्देश्य तथा आवश्यकता कु्नै पनि साहित्यिक रचनाको आफ्नो उद्देश्य तथा आवश्यकता हुन्छ र त्यसको विकास तथा रचना सिर्जना गरिन्छ । “व्यक्तिले आफ्नो जीवनका अनुभव सजिलोसँग उतार्ने गरि बिम्ब, भाव र श्र्रङ्गार दिई परिस्कृत परिमार्जित रुपमा समाजलाई विकास गरेर उचाइमा पुग्न प्रेरित गर्ने उद्देश्यले यो विधाको सुरुवात गरिएको छ ।
” नारायण खनाल । यसरी हेर्दा झर पनि नेपाली मौलिक साहित्यिक रचना हो । यसको पनि दिनानु दिन सर्जकको संख्यामा बृद्वि भैरहेको छ । तसर्थ नेपाली साहित्यमा यसको आबश्यकता देखिनु उद्देश्य निम्नानुसार देखिएको छ । –आफ्ना विचार एवं भावनाहरुलाई छोटो र प्रभावकारी तरिकाले व्यक्त गर्नु । –सबै व्यक्तिमा रहेको सृजनात्मक क्षमता प्रस्फुटन गर्नु ।
–सिर्जनालाई सरल र स्वतन्त्र भएर भावना व्यक्त गर्ने अवसर प्रदान गर्नु । –जस्तो सुकै छोटा सिर्जनामा पनि केही सन्देश दिन्छ भन्ने सन्देश दिनु । –लेखन प्रविधिको रूपमा समस्या समाधान, सकारात्मकता, उत्प्रेरणा, अनुभूतिआदि संग सम्बन्धित लक्षित सृजना गर्नु । –मानिसलाई सहज साहित्य सृजना तर्फ आकर्षित गर्नु । –व्यस्त समयमा पनि साहित्य सृजना गर्न र पढ्न सम्भव बनाउनु । –वृद्ध वृद्धाका जीवनका भोगाइलाई जीवन दर्शन तथा लोक झरको सृजनाकोरुपमा ल्याउनु ।

 

Before Header
२.५ झरको उत्पतिगत पृष्टभूमि सर्जक शिव खनाल ‘जीवन’ले लक्षित साहित्य अन्तर्गत अनायास मिति २०७७ जेठ ३ मा केहि रचनाहरु रचना गर्नुभयो । ती रचनाहरुलाई २०७७ जेठ ४ मा चामलको रोटीसंग तुलना गर्दै झरको नाम दिनुभयो, साथै यी रचनाहरुहरु मिति २०७७ जेठ ९ गते कालिगण्डकी अनलाईनमा प्रकाशित गराउनु भएको थिए । मिति २०७७ जेठ १० मा सर्जक तथा यसका मूख्य अभियन्ता वा प्रबर्धक नारायण खनाल निलमले झरको शब्दार्थ खोज्ने क्रममा आकाशबाट वर्षिरहेको पानीको पटक, झरनासंग झरिरहेको पानीको रूपमा र पानीको सानो एकाईको रूपमा झरलाई व्याख्या गर्दै झरको साहित्यिक अवधारणा थप स्पष्ट पारेपछि नेपाली साहित्यमा यसको औपचारिक जन्म भएको हो ।
यसका प्रणेता शिव खनाल यसको पहिलो लेखन मिति २०७७ जेठ ३ गते र यसको विधिवत नामाकरण मिति २०७७ जेठ ४ लाई मान्नुहुन्छ । यसबाट झरले पाठकलाई साँच्चिकै रापिलो दिनमा परेको एक झर पानीले जस्तै आनन्द दिन सक्ने, खुसी तुल्याउन सक्ने, सकारात्मक बन्न सिकाउन सक्ने र समग्र जीवन जगतलाई सरल साहित्यका माध्यमबाट सन्देश दिन सकिने प्रतीत हुन्छ ।
२.६ झरको रचना प्रक्रिया झर द्विपदिय वा दुई पङ्तिमा रचना गरिने, छोटो, प्रभावशाली, स्वछन्द लालित्यमय कविता हो । झरको मौलिक, स्वछन्द तथा स्वतन्त्र रचना प्रक्रिया भएको प्रभावशाली नेपाली सुत्रात्मक द्विपदीय एक पूर्ण अर्थ सहितको दृष्टात्मक रचना पनि हो । यसलाई दुई गुच्छा (पंक्ति) मा रचना गरिन्छ भने अक्षर वा शब्द संख्यामा बाध्यकारी नियक नरही रचनागत स्वतन्त्रता छ । झरका दुबै गुच्छा (पंक्ति) एक आपसमा सम्बन्धित रही एक पूर्ण अर्थ पनि बहन गर्नुपर्दछ । झरको पहिलो पङ्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्तिमा त्यसको पुष्टि गरिन्छ । दस झरको समुहलाई एक झरना भनिन्छ भने १०० झरनाको समूहलाई लाई नदि भनिन्छ ।
यसको आधारमा झरको गन्ती हुन्छ । झरका स्रष्टालाई यात्री भनिन्छ । यसरी रचना गरिएको दृष्टात्मक झरले प्रबल तथा गहन भाव सहित पाठक मनमस्तिकलाई प्रभाव पार्न सक्नुपर्दछ । यसले पाठकको मस्तिष्कमा एउटा नविर्सने प्रबल छाप छोड्न सक्नु झरको सफल सिर्जना हुनेछ । संरचना – दुई पङ्ति (द्विपदीय), रचना– स्वतन्त्र, दृष्टात्मक तथा न्यूनतम एक पूर्ण अर्थ । हाँस्नुको एउटा मज्जा जूनमा रातको जस्तै शितल उर्जा । –सुरेश काफ्ले विदारक झरमा दुई पङ्ति हुने हुँदा घटना, उत्तेजना र प्रतिक्रियाको सम्बन्ध स्थापित हुन्छ ।
छोटो रचना भएकोले झरमा विचार वा भावनाको गहनता भने हुनैपर्छ । साहित्यमा प्रयुक्त शृगार, लय, प्रतीकात्मकता, बिम्ब आदिको उचित प्रयोग स्वाभाविक रूपले आवश्यक हुन्छ । सर्जक तथा प्रणेता शिव खनाल “भल्भक्स नामक एक सजिव एक कोषिय प्राणी हो । तर यसका धेरै जीवहरु मिलेर खाना प्राप्त गर्दछन् र धेरै जीवहरु मिलेर बहुकोषिय जीवको स्वाभाव देखाउँछन् ।
त्यस्तै हरेक झरहरु स्वतन्त्र हुन्छन् । त्यस्तै एकै शिर्षकमा लेखिएका झरहरुका समूहले झरनाको अनुभुति दिन्छन् ।”“ चलिआएका उखानहरु र लोकोक्तिहरु नेपाली समाजका आफ्नै सम्पति हुनेछन् । दुई पंक्ति अनुच्छेदमा ठ्याक्कै छन्द कविता, लोक छन्द र गजलको मतलामा समेटिनेगरी झर रचना गरिने छैन ।” नारायण खनाल निलम । झर वाचन गर्दा प्रत्येक पंक्तिको अन्त्यमा विश्राम वा भाव र विषयले मागे अनुसार पङ्क्ति दोहोर् यादै भाव सम्प्रेषणको आधारमा वाचन गर्नु उत्तम हुनेछ ।
सन्देश तथा भाव सम्प्रेषणका आधारमा स्वरलाई उच्च, मध्यम र निम्न गर्दै वाचन गरिएमा मिठास तथा बढी प्रभावकारी बनाउन सकिन्छ । यसको रचना गर्दा एक रचना भए झर शीर्षक राख्दै शब्दको चयन तथा भाव अनुसार प्रश्नवाचक (?), पूर्णविराम (।) र विस्मादिवोधक (!) चिन्ह राख्न सकिन्छ । यसको अन्तिममा पूर्ण विराम तथा विषयप्रस्तुतीले मागेअनुसार अन्य स्थानमा पनि अन्य चिन्हको प्रयोग गर्न सकिन्छ । एकै शिर्षकमा लेखिएका झरहरुका समूहले झरनाको अनुभुति दिने हुनाले दश झरको समूहलाई झरना भनिन्छ । त्यसैले झरको न्यूनतम दशवटा झरको समूहलाई झरना शिर्षक राखेर लेख्ने गरिन्छ ।

 

२.७ झरका प्रकार विविध विषयवस्तु, दर्शन, अनुभव, व्यवहारका आधारमा पनि झरहरु सिर्जना भए । झर रचना गर्दे जाँदा विभिन्न क्षेत्रहरु समेटेर झरहरु रचना गरिए । यसरी यो विविध विषयक्षेत्रमा सिर्जना भएका रचनाहरुको आधारमा झरलाई यसरी विभाजन गरिएको छ । क) लोक झर – अनुभवका आधारमा लोकमा सर्वमान्यजस्तो विचार एवं भावनामा रचना गरिएको मौलिक नविन झरलाई लोक झर भनिन्छ । जस्तै पसिनाको फल कतै मल, कतै जल । – नारायण खनाल ख) दार्शनिक झर – जीवन जगत बारेका दृष्टिकोण पस्तुत भएका झरलाई दार्शनिक झर भनिन्छ । जस्तै जीवनको आफ्नै परिभाषा हुँदैन, कर्मले दिनु पर्छ ।
–शिव खनाल ग) भावनात्मक झर – आफ्ना भावना एवं अनुभूतिहरु गहन रूपमा प्रकट भएका झर भावनात्मक झर हुन् । जस्तै नफ्याक्नु कुनै अनाबश्यक बस्तु गर्मीमा घामको घृणा, जाडोमा त्यही प्यार हुन्छ । –सुरेश काफ्ले विदारक घ) प्रयोगात्मक झर – जीवन प्रविधि, लक्षित साहित्य, विभिन्न प्रविधि तथा नयाँ प्रयोग समेटिएका झर प्रयोगात्मक झर हुन् । जस्तै मुर्ती पूजामा फूलको हत्या ! – आर्त अकुलीन २.८ झरका सर्जकहरु नेपाली साहित्यमा प्रल्लवित जीवन, जगत र यसका अनुभव तथा लोक भावनालाई नजिकवाट नियाल्ने र सकारात्मक सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने सूत्रात्मक गद्यपद्य द्विपदिय रचना प्रकियामा पूर्ण स्वतन्त्रता भएको दृष्टात्मक शैलीको रचना हो ।
यसलाई कविताकै उपविधाको रुपमा मान्नुपर्छ । बौद्विक भावले मनमस्तिष्कलाई मार्गदर्शन गर्न सक्ने भाषिक तरलता, शैल्पिक सहजता, कथ्यको दृष्टात्मक कलात्मक संरचना, छरितोपना तथा गहनताका साथै अनुभूतिमा तिक्ष्णता रहने अर्थयुक्त लघुत्तम सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जना हो । पहिलो पङ्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्तिमा त्यसको पुष्टि गरिनु, दृष्टात्मकता यसको मौलिक सैद्वान्तिक पहिचान पनि हो । छोटो समयमा सयको संख्यामा सर्जकको प्रेम पाउन सफल भएको छ । यसको मूख्य कारण यसले विभिन्न सूक्ति, भनाई एवम महावाणीहरु जस्तै खँदिला, गहन र चोटिलो, रुपमा मस्तिष्कलाई झङकृत गर्न सक्नु नै हो ।
थुप्रै आदरणीय सर्जकहरुले झर रचना ,गरिरहनु भएको छ । झर रचना गर्ने सर्जकहरुमा शिव खनाल (स्याङ्झा) , नारायण खनाल (अर्घाखाँची), आर्त अकुलीन, अमर त्यागी (अमेरीका), जीवन पानी, शंकर पाण्डे, सुरेश काफ्ले विदारक (सुनसरी) सपना भट्टराई, हेमराज चौधरी, रेखा सुवेदी, सविता खत्री, भावेश उपाध्याय, निजात रबिन्द्र, दिपेन्द्र अधिकारी, सरस्वती श्रेष्ठ, निरु गौतम, बिष्णु भट्टराई विभु, शंकर पाण्डे, सपना भट्टराई, रेखा सुवेदी, सविता खत्री, भावेश उपाध्याय, लक्ष्मी नेपाल(सुनसरी), चन्द्रावती अधिकारी, लक्ष्मीनारायण जोशी श्रेष्ठ (मोरङ), दिपेन्द्र शर्मा, केशब ज्ञवाली, तिलक पोखरेल, समुन्द्र शर्मा, बिष्णु भट्टराई विभु, श्रेष्ठ, ईन्द्रा थापा, भवानी पाण्डे, तिलक राज चुदाली, समुन्द्र शर्मा, महेन्द्र मान बलामी, सि एन बन्जाडे, गौरव पाण्डे , लक्ष्मी वस्याल, षडानन्द बराल, पशुपति राई, सीता गौतम, लता पौडेल, रुक्मिणी सिग्देल, कमला भण्डारी ढकाल, कविता देवकोटा , तारा खनाल, जनार्दन अधिकारी धड्कन, गोविन्द खनाल, निर्मल पराजुली, दीक्षा सुवेदी, साबित्रा पाण्डे काफ्ले, भोजराज काफ्ले, सुरेन्द्र शाही, वालकुमार छेत्री क्रमश…. आदि हुनुहुन्छ । यसको लेखनमा स्वतन्त्रता, रस तथा लयमा भावनात्मक व्यङ्ग्य, अनुभविय भावना तथा दर्शन र भाव सम्प्रेषणमा सकारात्मकता हुनु आफैमा सफल देखिन्छ ।
यसरी सर्जकको संख्यामा बाढी आउनु र यसले ति सर्जकका बिचमा लोकप्रियता कमाउनुमा यसको स्वतन्त्र रचना विधान र यसले सम्प्रेषण गर्ने प्रवल भाव र सिर्जनात्मक एकाई भएकोले पनि हो । ३. विकासक्रम झरले नेपाली साहित्यिक मनमस्तिष्कमा छिट्टै प्रभाव पारेको छ । यसले छोटो समयमै नेपाली साहित्यिक पाठकको विचमा लोकप्रियता कमाउनु गर्भिलो कुरो हो । समयको व्यस्तताको बाबजुत पनि रचनात्मक सोच भएका सर्जक तथा पाठकलाई यसले कज्याएको छ । रचनाको स्वतन्त्रता र समयको व्यस्तताविच पनि रचना गर्न सक्नु नै यसको सफलता हो । यसले नेपाल लगायत देश बाहिरका सर्जकको हातमा सजिने सौभाग्य पाएको छ ।
त्यस्तै गरी प्रार्दूभाव भएको केही महिनामै देश–विदेशमा छरिएर रहनुहुने नेपाली भाषी सर्जक तथा पाठकको विचमा पनि प्रिय बन्दै गएको छ । त्यसैले यो पाठक तथा सर्जकहरुको रोजाइको केन्द्रविन्दुमा रहेको छ भन्दा पनि अनुपयुक्त नहोला । पर्याप्त देशी तथा विदेशी नेपाली साहित्यिक व्यक्तिहरु पाएर झर दिनदिनै गतिशील भई झागिने अवसर पाएको छ । “सर्जक शिव खनाल “जीवम”ले लक्षित साहित्य अन्तर्गत २०७७ जेठ ३ मा केहि रचना लेखि ती रचनाहरुलाई २०७७ जेठ ४ मा चामलको रोटी संग तुलना गर्दै झरको नाम दिई मिति २०७७ जेठ ९ गते कालिगण्डकी अनलाईनमा प्रकाशित भएका थिए । २०७७ जेठ १० मा अर्घाखाँचीका सर्जक तथा प्रमुख अभियन्ता नारायण खनाल निलमले झर शब्दलाई झर झर झरिरहेकोर वर्षिरहेको पानीसँग जोडेर साहित्यिक अर्थ स्पष्ट पार्दै रचना गर्न थाल्नु भयो ।
झरको विकासक्रममा अनलाईन, स्थानिय तथा राष्ट्रिय पत्रिका तथा रेडियोले खेलेकोे भूमिकालाई सूचिगतरुपमा प्रस्तुत गरिएको छ । पहिलो लेखन, शिव खनाल ‘जीवम’ २०७७ जेठ ३, प्रकाशन २०७७ जेठ ९, कालि गण्डकी अनलाइन प्रकाशित दोस्रो लेखन, नारायण खनाल, २०७७ जेठ ११, प्रकाशन २०७७ जेठ ११ सबैको न्युज अनलाइन प्रकाशित । यसरी झर लेख्दै जाने क्रममा कैलालीका सर्जक तथा झर साहित्यको गर्विलो अभियन्ता आर्त आकुलीनले त झन् विभिन्न भाषामा झर लेखेर गर्विलो प्रस्तुति पेश गरिरहनु भएको छ । संख्या, भाषा र मेहेनतका हिसाबले झरलाई अघि बढाउने अभियानमा उहाँको देन सह्रानिय छ । अन्य सर्जकहरुको पनि यसको उत्थानमा अतुलनीय योगदान रहिआएको छ ।. त्यस्तै गरी कालि गण्डकी अनलाइन, सबैको न्युज अनलाइन, नेपाल समाचार पत्र, घरको पोष्ट जस्ता पत्रिकाहरुले झर सम्बन्धि लेख तथा रचना स्वीकार गरी यसको विकासमा अमूल्य योगदान गर्नुभएको छ । झर सम्बन्धि छलफल तथा रचना

 

झर सम्बन्धि छलफल तथा रचना झर, समकालिन साहित्य फेसबुक समूहमा गरिरहनुभको छ । साथै झर सागर फेसवुक समूहमा रचना प्रकाशित भैरहेको छ । अब झर नेपाली साहित्यकाशमा स्वीकार्य विधा हुनुपर्छ । ५. निष्कर्ष नेपाली साहित्यमा प्रल्लवित जीवन, जगत र यसका अनुभव तथा लोक भावनालाई नजिकवाट नियाल्ने र सकारात्मक सन्देशमूलक चेतना सम्प्रेषण गर्न सक्ने सूत्रात्मक गद्यपद्य रचना झर हो । यो द्विपदिय रचना प्रकियामा पूर्ण स्वतन्त्रता भएको दृष्टात्मक शैलीको रचना हो । मिति २०७७ साल जेठ ३ मा शिव खनालद्वारा जन्मेको यस रचनालाई कविताकै उपविधाको रुपमा मान्नुपर्छ । बौद्विक भावले मनमस्तिष्कलाई मार्गदर्शन गर्न सक्ने भाषिक तरलता, शैल्पिक सहजता, कथ्यको दृष्टात्मक कलात्मक संरचना, छरितोपना तथा गहनताका साथै अनुभूतिमा तिक्ष्णता रहने अर्थयुक्त लघुत्तम सूत्रात्मक नेपाली काव्यको मौलिक सिर्जना हो ।
पहिलो पङ्तिमा विषयवस्तुको उठान गरिन्छ र दोस्रो पङ्तिमा त्यसको पुष्टि गरिनु यसको मौलिक सैद्वान्तिक पहिचान पनि हो । दस झरको समुहलाई एक झरना भनिन्छ । छोटो समयमा सयको संख्यामा सर्जकको प्रेम पाउन सफल भएको छ । यसको मूख्य कारण यसले विभिन्न सूक्ति, भनाई एवम महावाणीहरु जस्तै खँदिला, गहन र चोटिलो, रुपमा मस्तिष्कलाई झङकृत गर्न सक्नु नै हो । थोरैमा धेरै भन्नसक्ने सामर्थ पनि योसँग छ । सुत्रको माध्यमबाट धेरैलाई एकै पटक सूचना सम्प्रेषण गर्न सक्दछ । यो बौद्विक र तार्किक सोचका आधारमा अर्थिन पनि सक्दछ । यसको बहुरुपी भाव र अर्थ संवाहन गर्न सक्ने आधार पनि यसमा छन् ।
यसले इतिहास रच्दै विशिष्ट मानक तयार गर्दै आफ्नो एउटा छुट्टै पहिचान राख्नुपर्छ । यसको लागि बहस÷विमर्श र गुणात्मक सिर्जनाका अग्रसर हुनुपर्दछ । झरलाई शक्तिशाली एवं रमणीय बनाउन बिम्ब, प्रतीक लगायत कविता कलाका सौन्दर्यवर्धक साधनहरूको औचित्यपूर्ण उपयोगको आवश्यकता पर्दछ । बिम्ब, प्रतीक र अलङ्कारहरू सर्जकले व्यक्त गर्न चाहेको मूल भावलाई स्पष्ट पारी चमत्कारपूर्ण एवं आकर्षक बनाउन तथा कलात्मक उत्कर्ष भरी सौन्दर्यपूर्ण बनाउन उल्लेख्य भूमिका खेल्ने तŒवहरु हुन् । ती साहित्यमा प्रयुक्त श्रीङ्गार, लय, प्रतीकात्मकता, बिम्ब आदिको उचित प्रयोग स्वाभाविक रूपले आवश्यक हुन्छ ।
सन्दर्भ सामाग्रीहरु शिव खनाल ‘जीवम’, झरको परिचय”, २०७७ जेठ ९, कालि गण्डकी अनलाइन । नारायण खनाल,“नेपाली साहित्यमा झरः एक परिचय”, २०७७ जेठ ११, सबैको न्युज अनलाइन । झर साहित्य सागर ।
–इटहरी, सुनसरी ।
[email protected] सम्पर्क ९८४२२३२२६०

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.