Open Khabar
Before Header

सोचे जस्तो हुन्न जीवन

सोचे जस्तो हुन्न जीवन
 
Before Header
 
साच्चै एउटा नेपाली गीत छनि संगीतः नातिकाजी रचनाः दिनेशहरि अधिकारी र तारादेवीले गाउनु भएको, ‘सोचे जस्तो हुन्न जीवन, सम्झे जस्तो हुन्न जीवन, जस्तो भोग्यो उस्तै हुन्छ, देखे जस्तो हुन्न जीवन !’ हुन पनि यो गीत हामी धेरैको जीवनसँग ठ्याकै मेल खान्छ। मेरो आजको यो लेख पनि यही सेरोफेरोमा अर्थात हाम्रो जीवनको महत्वाकांक्षा, सपना, भोगाई, सोचाई र देखाईको वरिपरि केन्द्रित छ।
 
मानव भएर जन्म लिइसकेपछि व्यक्तिमा अनेक इच्छा र सपना हुनु स्वाभाविक हो । कहिले ती सपना पूरा गर्न सहज बाटो भेटिन्छन् भने कहिले सपनालाई पछ्याउँदा पछ्याउँदै टुंगो नभएको बाटोमा हिंडिरहेको हुन्छ । मानिसले मृत्युलाई टार्न सक्दैन । जन्म पछि मृत्यु अवश्य हुन्छ भन्ने थाहा हुँदा हुँदै पनि आत्महत्या गर्नु निराशा, उपायविहीनता, आशाको उज्यालो नदेख्नु र कायरताको पराकाष्ठा हो । आत्महत्या गर्नु भनेको जीवनदेखि भाग्नु हो । जीवनमा सुख–दुःखका क्षणहरू आइरहन्छन् । अज्ञानता, अति महत्वाकांक्षी, ईष्र्या, अपरिपक्वता आदिका कारण मानिसहरू आत्महत्या गर्छन् ।
 
कतिपयले जीवनलाई एउटा संघर्षको गोरेटो मानेका छन् भने कतिले जीवनलाई मोजमस्तीको रुपमा लिएका छन् । हो वास्तवमा भन्ने हो भने जीवन भनेको आआफ्नो तरिकाले कसरी जीवन यापन गर्नेमा भर पर्छ । कतिको जीवन सुखमय हुन्छ भने कतिको दु:खमय हुन्छ । मलाई लाग्छ जीवन भनेको एउटा फुलिरहेको फुल जस्तै हो । जसरी फुल फुलीरहँदा त्यसको बासना मिठो हुन्छ । त्यस्तैगरी जीवनको पनि त्यतिकै महत्व हुन्छ ।
 
जीवनमा हरेक मानिसको सपना हुन्छ। अधिकांश मानिस आफूलाई सफल, सबल र सक्षम बनाउन चाहान्छन। तर पनि किन हुन्न हरेक मानिसको जीवन सोचे जस्तो ? किन सबै मानिस सफल हुन सक्दैनन् ? किन एउटै परिवेशमा हुर्केर बढ्ने र पढ्ने वा एउटै परिवारमा जन्मेका छोरा छोरीहरु कोही सफल हुन्छन भने कोही किन असफल हुन्छन ?   असफल हुँदा कसैले आफ्नो भाग्यलाई दोष दिन्छन भने कसैले आफ्नो कर्मलाई दोष दिन्छन। के यो भाग्यको खेल हो भनिन्छ नि हुने बिरुवाको चिल्लो पात नहुने विरुवाको फुस्रो पात । मानिसको जीवन पनि त्यस्तै हो । जसको जीवन राम्ररी सुखमय बितेको छ । उनीहरु सानैदेखि नै मिहिनेती, लगनशीलताका साथ अघि बढेका हुन्छन् । वा कर्मको दोष हो ? वा, भगवानको आशिर्बादले त्यस्तो भएको हो? कि नियतिले नै त्यस्तो बनाएको हो? मेरो मनमा मात्रै हैन हामी अधिकांशको मनमा यो कुरा खेलेको हुन सक्छ।
 
मेरो गाउँमा मेरो घरको छेउमा एक जना प्रख्यात ज्योतिषी हुनुहुन्थ्यो। । उहाँको घरमा आफ्नो भाग्य दहेर्ने आउनेहरुको भीड हुन्थ्यो। म सानै छँदा मेरी आमाले पनि मेरो चीना लिएर उहाँको घरमा एक पटक मेरो भाग्य र ग्रहदशा हेर्न गएको मलाई सम्झना छ। त्यति बेला मसँग ठूलो मान्छे हुने न त कुनै सपना थिएँ, न त मलाई भविष्यको चिन्ता नै थियो। त्यति बेला म केवल एउटा अबोध र निश्चल बालक थिएँ। त्यै पनि मेरी आमालाई भने मेरो भाग्य र भविष्यको बारेमा चिन्ता थियो। हुन पनि कुन आमा बाबुलाई हुँदैन र आफ्नो सन्तानको भविष्यको चिन्ता।
 
म सोच्छु हरेक आमाले आफ्नो सन्तानको भाग्य लेख्न सक्ने भए वा भबिष्य कोर्न सक्ने भए यो संसारमा कसैलाई पनि कुनै कुरामा केही कमि हुँदैन थियो होला। अथवा भगवानले नै सबै कुरा दिन सक्ने भए सबैलाई किन त्यतिकै बुद्धिमान, बलमान र धनवान  बनाएनन होला? यदि हामी सबै भगवानकै देन हौ भने भगवानले नै किन आफ्नो सृजनालाई कसैलाई काखा र कसैलाई पाखा किन गर्छन र ?
 
हामी सबैलाई थाहा छ मानिस जुन परिवारमा, परिवेशमा र जुन परिस्थितिमा जन्मन्छ त्यो त परिवर्तन हुन सक्दैन। न त हरेक मानिसको हुर्काई र बढाई नै आफ्नो हातमा हुन्छ।  कसैले जन्मदैमा राजकुमार हुने भाग्य लिएर आउँछन् त कोही एकदमै बिपन्न वा केवल मागेर जीवन पाल्ने परिवारमा जन्मन्छन। यो त केवल भाग्यको खेल हो। काहबत कसैले यसलाई पूर्वजन्मको फल भन्छन भने कसैले यसलाई नियतीको खेल पनि भन्छन।
 
यो संसारमा धेरै उदाहरणहरु  छन्, जो बिपन्न परिवारमा जन्मेर पनि पछि सम्पन्न भएको र सम्पन्न परिवारमा जन्मेर पछि कंगाल भएको। किन त्यस्तो हुन्छ ? के यो भगवानको देन हो वा आफ्नै कर्मको फल हो ? मलाई लाग्छ मानिसले जस्तो कर्म गर्यो त्यस्तै फल पाउँछ। सत्मार्ग, सत्कर्म र मेहेनतको फल हो सफलता। हरेक मानिस कुनै न कुनै कुरामा योग्य हुन्छ।  हामीले यो संसारमा कुनै मानिस देखेको छौ जुन दोश्रो मानिससँग रुप, बुद्धि, विचार र गुणमा ठ्याकै उस्तै हुन्छ ? बिल्कुल हुँदैन। त्यसैले हरेक मानिस आफैमा बिशेष हुन्छ। यदि हरेक मानिस आफैमा बिशेष हुन्छ भने किन उ सफल हुँदैन ? त्यसको एउटै कारण हो – सबै मानिसले आफ्नो गुण पहिचान गर्न सक्दैनन् र मौका वा अवसरको फाइदा लिन सक्दैनन्।अझै भन्नु पर्दा समयलाईनै चिन्न सक्दैनन् ।
 
आफूले आफैलाई चिन्न र अवसरको फाइदा लिने काइदा जान्न धेरै कुराले मद्धत गर्छ। त्यसको लागि सबैभन्दा पहिले परिवारको हरेक सदस्यले अर्को सदस्यलाई सहयोग  गर्नु, राम्रो वाताबरण दिनु र  सकारात्मक भूमिका खेल्नु पर्ने हुन्छ। अनि शिक्षा, स्वास्थ्य, आर्थिक अवस्था आदिको लागि समाज र राज्यको भूमिका हुन्छ। जुन परिवार, समाज र राज्यले आफ्नो भूमिका र दायित्व राम्रोसँग निर्वाह गर्छ, त्यहाँ धेरै मानिसहरु सफल, सबल र सक्षम हुन्छन। जस्तै हामीले देखेका छौ कुनै जिल्ला बिशेष वा गाउँ बिशेषमा धेरै पढे लेखेका, बुद्धिजीवी र सफल मानिसहरु धेरै भएको वा कुनै परिवार बिपन्न भए पनि छोरा छोरीहरुलाई पछि निकै सफल बनाएको।
 
हरेक मानिसको जीवन सोचे जस्तो त कहाँ हुन्छ र? कहिले कुनै कुराको कमी हुन्छ, कहिले आफूले सोचेको केही पुग्दैन। अनि हरेक मानिस आफैमा कहिले पनि सन्तुष्ट हुन सक्दैन।  एउटा कुरा पुग्यो, फेरी अर्को चाहना हुन्छ। हुन पनि लक्ष्य पुरा गरेर चुप लगेर बस्ने हो भने फेरी प्रगति र उन्नति कसरी हुन सक्छ र ? प्रगति र उन्नतिको लागि एउटा सिढी चढे पछि अर्को उक्लने प्रयास गर्नु पर्छ। तर, आफ्नो हैसियत, परिवेश, क्षमता र दक्षताको सीमा र परिधि भने आफैले तोक्ने हो।
 
भनिन्छ नि सुनको तुलना सुनसँग नै हुन्छ, कहिले पनि फलामसॅंग गरिंदैन।  अर्थात, आफू जुन परिवेश र जुन परिश्थितिमा  हुर्केको, बढेको र पढेको हो त्यही अनुसार आफ्नो गन्तब्य र बाटो तय गर्ने हो। म कहिले पनि आफूलाई कुनै शहरिया, सम्भ्रान्त र शिक्षित बाबु आमाको सन्तानसँग आफूलाई तुलना गर्दिन। कतिसम्म भने मैले आफूलाई मेरो आफ्नै काका काकीका सन्तानसँग पनि कहिले तुलना गरिन। किनकि उनीहरु मेरो लागि सुन हुन्, म उनीहरुको तुलनामा केवल फलाम हुँ। किनकी मेरी आमा अशिक्षित हुनु हुन्थ्यो, मेरो बुवा पनि सामान्य पढेलेखेको मान्छे। तर मेरो काका काकी सबैजना अति शिक्षित र समाजका अति नै गन्य र मान्यजन। त्यती मात्रै हैन, मेरा काका काकीका सन्तान निजी स्कूलमा पढ्ने लेख्ने अवसर पाए भने म बिचरा एउटा सरकारी सामान्य स्कूलमा पढेलेखेको, अति सामान्य परिवारमा जन्मे हुर्केको मान्छे। त्यति मात्रै कहाँ हो र म त आर्थिक अभावमा कलेज पढ्नबाट समेत बन्चित भएर प्राईभेट पढेर कलेज नै नगई आईए पास गरेको मान्छे।
 
कहिले पनि सोचे जस्तो हुन्न जीवन। तर, जीवनमा सकारात्मक सोच्ने, आफ्नै परिवेश र आफ्नै धरातलमा आफैलाई राखेर जोख्ने, आफ्नो गुण पहिचान गरेर आफ्नो लक्ष्य मार्ग तोक्ने र जीवनलाई कुनै निर्दष्ट लक्ष्यमा पुर्याउन कडा परिश्रम गर्ने हो भने आफैले सोचे जस्तो हुन्छ जीवन। अर्थात, आफ्नो लक्ष्य र उद्देश्य पक्कै पुरा गर्न सकिन्छ आफ्नो जीवनमा। त्यसको लागि आफूलाई अरुसँग  तुलना गर्ने हैन आफूलाई आफैसँग तुलना गर्नु पर्छ। आफ्नो मार्ग आफै तोक्नु पर्छ र आफ्नो गन्तब्यमा पुग्न आई पर्ने सबै ब्याबधान आफैंले हटाउनु पर्छ। अरु त सल्लाह, सुझाव र मार्ग निर्देश गर्ने मात्रै हुन्, आफ्नो बाटो र गन्तब्य त आफैले तोक्ने हो र आफ्नो लक्ष्य पुरा गर्न कर्म आफै गर्ने हो।
 
सोचे जस्तो हुन्न जीवन, तर आफूले आफ्नो परिवेश र आफ्नो स्तर अनुसारको लक्ष्य आफैले तोक्ने हो र आफ्नो बाटो पनि आफैले पार गर्ने हो। अनि हुन्छ आफ्नो परिवेश र आफ्नो हैसियत अनुसारको सोचे जस्तो आफ्नो जीवन। मलाई लाग्छ यदि आफैले आफूलाई खुसी र सुखी राख्न प्रतिबद्ध हुने हो भने आफ्नो जीवन आफैले सोचे जस्तो हुन्छ। तर, सोचाई भने आफ्नो परिवेश, हैसियत र क्षमता अनुसारको राख्नु पर्छ र त्यही अनुसारको लक्ष्य तोकी कडा परिश्रम पनि गर्नु पर्छ। सबैलाई सुखी र खुसी जीवनको लागि शुभकामाना।
 
एलेक्स थापा, सिन्धुली
हाल काठमाडौं, बानेश्वर
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.