Open Khabar
Before Header

एसपी खड्कासहित ६ जनाविरुद्ध मुद्दा दर्ता

 दलित युवकको हिरासतमा मृत्यु भएको प्रकरणमा एसपी रविराज खड्का विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय रौतहटमा मुद्दा दर्ता गरिएको छ । इलाका प्रहरी कार्यालय गरुडा तथा जिल्ला प्रहरी कार्यालय रौतहटमा एसपी, डिएसपी र अन्य प्रहरी कर्मचारीविरुद्ध आन्दोलन गरिरहेका थिए । उनीहरुले प्रहरी कार्यालयमा मुद्दा दर्ता हुन नसकेपछि बुधबार सरकारी वकिल कार्यालयमा दर्ता गराएका हुन् ।

जिल्ला सरकारी वकिल कार्यालय रौतहटका न्यायाधीवक्ता सुबास कुमार भट्टराईले जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन एसपी रविराज खड्कासमेत ६ जनाविरुद्ध आएको जाहेरी कानुनअनुसार दर्ता गरिएको बताएका छन् । पनिलाल रामले दिएको जाहेरी दर्ता गरी आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा पठाइएको पनि न्यायाधीवक्ता भट्टराईले बताएका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी सिद्धिविक्रम शाहले जिल्ला सरकारी वकिलको कार्यालयबाट पत्र प्राप्त भएको र सोअनुसार  आवश्यक कारबाही भइरहेको बताएका छन् ।

गत साउन ३१ गते राति गरुडा ८ जिंगडियाका २० वर्षीय युवक निरन्जन रामको घाटी रेटेर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको थियो । युवकको हत्याको आरोपमा अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय गरुडाले ७ जनालाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये १९ वर्षीय विजय रामको प्रहरी हिरासतमै उपचारको क्रममा भदौ १० मा मृत्यु भएको थियो । निरन्जन रामको हत्यामा संलग्न रहेको भनी स्वीकार गराउन प्रहरीले विजय रामलाई चरम यातना दिएको र प्रहरी यातनाकै कारण युवकको मृत्यु भएको भन्दै दलित अगुवाहरुले आरोप लगाउँदै आएका छन् ।

दलितको हिरासतमा मृत्यु प्रकरणमा तत्कालीन रौतहट प्रहरी प्रमुख एसपी रविराज खड्का र इप्रका गरुडाका तत्कालीन प्रहरी प्रमुख डिएसपी ज्ञानकुमार महतोको पनि संलग्नता रहेको भन्दै दलित अधिकारकर्मी तथा दलित नेताहरुले दुवै जनालाई निलम्बन गरी अनुसन्धान गर्नुपर्ने माग राख्दै आएका थिए । एसपी, डिएसपीसहित ६ जना विरुद्ध प्रहरीले मुद्दा दर्ता गर्न नमानेको भन्दै दलितहरुले दिनहुँ प्रदर्शन गर्दै आइरहेका थिए ।

तत्कालीन एसपी खड्कासहित इलाका प्रहरी कार्यालय गरुडा तत्कालीन प्रमुख डिएसपी ज्ञानकुमार महतो, प्रहरी निरीक्षक नवीनकुमार सिंह, सई वीरेन्द्र यादव, हवलदार फिरोज मियाँ धुनियाँ र मुन्ना सिंह विरुद्ध मुद्दा दर्ता भएको हो ।

जिल्ला सरकारी वकिलको कार्यालयमा मुद्दा दर्ता भएपछि दलितहरुको आन्दोलन केही मत्थर हुने विश्वास गरिएको छ ।

 

 

Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.