माघ १२, २०७७

काठमाडौं – अपहरण तथा शरीर बन्धक बनाइ सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीले सिन्धुपाल्चोक जुगल गाउँपालिका-४ गुन्टे गाउँका २४ वर्षीय कैलाश भन्ने रोहन नेपालीलाई पक्राउ गरेको हो।
गत असोज १५ गते कैलाशले राति करिब ७ बजे जलविरे पुगेर घर फर्किन लागेकी ३२ वर्षीया महिलालाई मोटरसाइकलमा घर पुर्याई दिने भनी लिफ्ट दिएका थिए। त्यसदिन ती महिलाले पनि मापसे गरेकी थिइन्।


कैलाशले ती महिलालाई घर नलगी जुगल-४ मान्जेस्थित एक जंगलमा लगेर रोहन समेतका प्रतिवादीहरूले उनलाई बन्धक बनाई बलात्कार गरेपछि फेरि नजिकै पार्किङमा राखिएको बोलेरो गाडीमा लगेर पनि पटक-पटक सामूहिक बलात्कार गरी लगाएको गरगहना तथा १० हजार नगद समेत लुटपाट एवं डाँका गरी फरार भएका थिए।
महानगरीय अपराध महाशाखाको टोलीले फरार अभियुक्त कैलाशलाई काठमाडौंको कलंकीबाट पक्राउ गरेको हो। उनलाई पक्राउ गरी आवश्यक कारवाही तथा थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाएको महाशाखाले जनाएको छ।
यस घटनामा संलग्न अन्य दुई जनालाई प्रहरीले पहिले नै पक्राउ गरिसकेको छ भने थप एक जनाको खोजी भइरहेको महाशाखाले जनाएको छ। प्रहरीले गाडी चालक सिन्धुपाल्चोक जुगल-५ ढाडे बस्ने २३ वर्षीय सुन्दर भन्ने रन्जित श्रेष्ठ र २८ वर्षीय विकास सिलवाललाई पक्राउ गरेको हो। श्रेष्ठलाई प्रहरीले असोज २० गते र सिलवाललाई १९ गते पक्राउ गरेको थियो। अहिले उनीहरू पुर्पक्षका लागि थुनामा रहेको प्रहरीले जनाएको छ।
