Open Khabar
Before Header

नेकपाकी सांसद सानु पहाडीको उपचारका क्रममा निधन, प्रधानमन्त्रीले दुःख व्यक्त गरे

सोहन राई
असोज २८, २०७७
Before Header
 
काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद तथा कलाकार सानु पहाडीको उपचारका क्रममा बुधबार निधन भएको छ। लामो समयदेखि मिर्गाैला र मुटुको समस्याबाट पीडित ५८ वर्षीया जनवादी गायिका पहाडीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको हो।

 

केही समयअघि उनको दुवै मिर्गाैलाले काम गर्न छाडेपछि प्रत्यारोपणसमेत गरिएको थियो। त्यस्तै, उनी लामो समयदेखि मुटुसम्बन्धी रोगबाट पनि पीडित थिइन्। पछिल्लो समय मुटुको समस्या भएपछि उनी अस्पताल भर्ना भएकी थिईन्। जनसांस्कृतिक महासंघकी केन्द्रीय सदस्यसमेत रहेकी पहाडीले २५ भन्दा धेरै जनवादी गीतमा स्वर दिएकी छिन्। उनका एक छोरा र एक छोरी छन् भने श्रीमान डम्बर पहाडी प्राध्यापन पेशमा आवद्ध छन्।

 

 
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट समानुपातिक निर्वाचनबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने पहाडी २०३६/०३७ सालदेखि नै नेपाली विद्यार्थी आन्दोलन र सांस्कृतिक अभियानमा सहभागी भएकी थिइन्। ताप्लेजुङमा जन्मिएर इलामलाई कर्मथलो बनाएकी पहाडी जनवादी गीत गाउँदै राजनीतिमा लागेकी थिइन्। शिवाले दलित महिलाको उत्थान तथा लैङ्गिक विभेदविरूद्ध आवाज उठाउँदै दलित आन्दोलनमा निकै सक्रिय सहभागी जनाउदै आएकी थिइन्।
 
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले उनको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन्। ‘हाम्रो पार्टी नेकपाका तर्फबाट प्रतिनिधिसभा सदस्य, संस्कृतिकर्मी सानु शिवा पहाडीको असामयिक निधन भएकोमा दुःख लागेको छ। उहाँप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु’, प्रधानमन्त्रीले ट्वीटमा लेखेका छन्। सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले पहाडीप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त आफन्त र परिवारजनमा समवेदना व्यक्त गरेका हुन्।
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.