काठमाडौँ, २८ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको समयमा दलभित्रको विवादमा प्रवेश गर्न नहुने बताएका छन् । निर्वाचनको तयारी बुझ्न मंगलबार आयोग पुगेका ओलीले आयुक्तहरूसँग यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले आफूले ६४ प्रतिशत मतको प्रतिनिधित्व गरेर प्रतिनिधिसभा विघटनको सिफारिस गरेको जिकिर आयोगमा गरे । छलफलका क्रममा २०७५ जेठ ३ गते नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर नेकपा बनेको स्मरण गराउँदै प्रधानमन्त्री ओलीले आयोगले जेठ २३ गते नै यससम्बन्धी सूचना जारी गरेको स्मरणसमेत गराएका थिए ।

‘म एउटै दलको संसदीय दलको नेताका हैसियतले प्रधानमन्त्री भएको थिएँ । पुस ५ गते मेरो सिफारिसमा प्रतिनिधिसभा विघटन हुँदासम्म मेरो त्यो हैसियत कायमै थियो,’ ओलीले आयोगका पदाधिकारीसँग भने, ‘पहिलो अध्यक्ष हुँ। मेरो एकल हस्ताक्षर मान्य नहुने हुँदैन । केही मान्छे बाहिरिएको हो । अहिले आएर विवाद गर्न मिल्दैन ।’


प्रधानमन्त्री ओलीले मंगलबारको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयबारे आयोगलाई जानकारी गराएका थिए । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।
